काठमाडैा, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरिक्षण तथा भेटघाट गर्नुभएको छ ।
पोखरामा बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना एवम् नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा आयोजित ‘आम सञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल’ को उद््घाटन पश्चात उहाँले पोखरास्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालय र तालचोकस्थित एन सेलको डाटा सेन्टरको निरिक्षण गर्नुुभएको हो ।
टेलिकमको कार्यालयमा प्रदेश कार्यालयका तर्फबाट निर्देशक वसन्त लिङथेप, उपप्रबन्धक हरि के शर्मा लगायतले मन्त्री खरेललाई स्वागत गर्नुभएको थियो ।
उक्त अवसरमा मन्त्री खरेलले नेपाल टेलिकमको सेवालाई समय सापेक्ष प्रभावकारी बनाउनुपर्ने बताउँदै विद्यमान समस्याको समाधानाका लागि नीतिगत रुपमा गनुपर्ने विषयलाई अघि बढाउने कुरामा आँफू तयार रहेको बताउनुभयो ।
देश निर्वाचनमा अघि बढीसकेको उल्लेख गर्दै उहाँले उहाँले दलहरू निर्वाचनको तयारीमा लागिसकेको बताउनुभयो । देशलाई स्थायित्वसँगै समृद्धि र विकासको बाटोमा लैजानका लागि निर्वाचन अपरिहार्य भएको उहाँको भनाइ छ ।
नेपाल टेलिकमममा आयोजित कार्यक्रममा निर्देशक लिङथेप र शर्माले त्यहाँबाट भैरहेका सेवा प्रवाह लगायतका विषयमा जानकारी गराउनुभयो ।
मन्त्री खरेलले पोखराको तालचोकस्थित एनसेलको डाटा सेन्टरको पनि स्थलगत अवलोकन गर्नुभएको थियो । मन्त्री खरेललाई उक्त सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले जानकारी गराउनुुभयो । उक्त क्रममा उहाँले डाटा सेन्टरको व्यवस्थापन पक्ष राम्रो पाएको भन्दै प्रशंसा गर्नुभएको थियो ।
मन्त्री खरेलले आजै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रमुख सचिव डण्डुराज घिमिरे सहित सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्था लगायतका विषयमा जानकारी लिनुभएको थियो ।
उहाँले आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका साथै विभिन्न भेटघाट पनि गर्नुभएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to About Nepal
Maintained By Sathi Solutions



