सिंहदरबार, काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचन, कानुन तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम सिंहदरबारमा आज सम्पन्न भएको छ। कार्यक्रमको समापन मन्तव्य दिँदै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटका रूपमा नभई शान्तिपूर्ण परिवर्तनको माध्यमका रूपमा बुझ्नुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री कार्कीका अनुसार छलफलमा सहभागी राजनीतिक दल, नागरिक समाज तथा जेनजी प्रतिनिधिहरूले निर्वाचन हुनुपर्छ भन्ने साझा धारणा राखेका छन्। अदालतमा केही मुद्दा विचाराधीन रहे पनि निर्वाचन रोक्नुपर्ने मत कतैबाट नआएको उहाँले स्पष्ट पार्नुभयो।

संविधानले दुई अधिवेशनबीच छ महिनाभन्दा बढी रिक्तता हुन नदिने व्यवस्था गरेकाले तोकिएको समयमै निर्वाचन अपरिहार्य भएको प्रधानमन्त्रीको भनाइ छ। “निर्वाचन हाम्रो लागि संकट होइन, उत्साह र परिवर्तनको घडी हो,” उहाँले भन्नुभयो।

भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाले समाजमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवापुस्ताको आवाजलाई गम्भीरतापूर्वक सुन्न राजनीतिक दलहरू तयार हुनुपर्ने बताउनुभयो। जेनजीले उठाएका प्रश्न र मागहरू समाधान गर्न सबै पक्ष एकमत रहेको उहाँको दाबी थियो।

राजनीतिक दलभित्रका असमझदारीको असर जनतामाथि पार्न नहुनेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हातमा हुने बताउनुभयो। “एउटा दल असफल भयो भने जनताले अर्को दल रोज्न सक्छन्, यही लोकतन्त्रको सार हो,” उहाँले भन्नुभयो।

शान्ति सुरक्षाका विषयमा बोल्दै प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल एकताबद्ध भए हिंसा र अराजकता फैलिन नसक्ने उल्लेख गर्नुभयो। उहाँले सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी भई मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि सहयोग गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा जेनजी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय