काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पुष्प खेती तथा आलंकारिक बोटबिरुवा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले हरितगृह प्रविधिमा आधारित विशेष कर्जा प्रवाह गर्ने भएको छ । यसका लागि बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार बैंकले पुष्प व्यवसायी तथा कृषकलाई लक्षित गरी विशेष हरितगृह कर्जा सुविधा उपलब्ध गराउनेछ भने एसोसिएशनले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी प्रदान गर्नेछ ।
यस सहकार्यबाट पुष्प उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक हरितगृह प्रविधिको प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ । साथै जलवायु अनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधि अपनाउन कृषक तथा व्यवसायीलाई उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ लगायत प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित ग्लोबल आइएमई बैंकले ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू तथा भारत लगायतका देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपाली अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।



