नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको क्यानले जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेपाली क्रिकेट संघ (क्यान)ले आगामी मंसिर १ गतेदेखि एनपीएल सुरु हुने जानकारी दियो।

यसपटक एनपीएल पहिलोपटक फ्लडलाइटअन्तर्गत डे–नाइट ढङ्गमा आयोजना हुँदैछ। पहिलो संस्करण सफल भएकैले दोस्रो संस्करणलाई अझ आकर्षक बनाउन रात्री खेल थप गरिएको क्यानका सचिव पारस खड्काले बताए।

खड्काका अनुसार पुरस्कार राशिमा भने कुनै परिवर्तन छैन। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँसहित उपाधि जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, कर्णाली याक्सले २५ लाख र चितवन राइनोजले १५ लाख प्राप्त गरेका थिए।

क्यानले दोस्रो संस्करणबाट झन्डै ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। कोषाध्यक्ष पदम खड्काका अनुसार यसपटक १५–३० करोड रुपैयाँ प्रायोजकबाट मात्र आउने अपेक्षा गरिएको छ। उनका अनुसार, टिम ओनरहरूबाट ९ करोड प्राप्त हुने र यस वर्ष एनपीएललाई डिजिटल मोडमा लैजाने योजना पनि अघि बढाइएको छ।

डिसहोम गोले ५ करोड ३० लाखको बिड गरेको छ र अन्तर्राष्ट्रिय आम्दानीमध्ये ७१ प्रतिशत क्यानलाई, २९ प्रतिशत डिसहोमलाई जाने व्यवस्था मिलाइएको छ।
लिनियर टिभी अधिकारको न्युनतम मूल्य १ करोड निर्धारण गरिएको छ, र त्योभन्दा बढी आउने आशा क्यानले गरेको छ। टिकट बिक्रीबाट मात्रै ८ देखि १२ करोड उठ्ने अपेक्षा गरिएको छ।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्, र सबैले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन्। केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउने क्रममा छन्।

उद्घाटन खेल मंसिर १ गते अपराह्न ४ बजे, साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच खेलिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय