काठमाडौँ: राष्ट्रिय एआई केन्द्र उद्घाटन सम्पन्न भएको केही दिनमै दक्षिण कोरिया पुगेका मन्त्री खरेलले सिओल एआई फाउन्डेशनले सञ्चालन गर्दै आएको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ अवलोकन गर्दा त्यहाँको एआई तथा सूचना प्रविधिको विकास नेपालका लागि अत्यन्तै उपयोगी हुने टिप्पणी गर्नुभयो। उहाँका अनुसार यो भ्रमणले नेपालमा एआई क्षेत्र विस्तारका लागि नयाँ उत्साह र सिकाइ प्रदान गरेको छ।

नेपाली प्रतिनिधिमण्डलले एआई सिटी, एआई सेन्टर तथा त्यहाँ गरिएको एआई–आधारित कामको विस्तृत जानकारी लिएको थियो। भ्रमणपछि मन्त्री खरेलले भने, “स्मार्ट सिटी सेन्टरमा देखिएको एआई संरचना र कार्यप्रणालीले नेपालको नवस्थापित एआई केन्द्रलाई प्रभावकारी रूपमा अघि बढाउन मार्गदर्शन गर्नेछ।”

मन्त्रीले हालै एक कोठाबाट सुरु गरिएको नेपालकै एआई केन्द्रलाई क्रमशः सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्दै त्यहाँका अधिकारी तथा विज्ञहरूसँग एआईका अवसर, भविष्यका सम्भावना तथा त्यसको उपयोगिताबारे विस्तृत छलफल पनि गर्नुभएको थियो।

‘११ औँ ग्लोबल आइसीटी लिडरसिप फोरम’मा सहभागी हुन उनी कात्तिक २५ गते कोरिया प्रस्थान गरेका हुन्। कोरियाको विज्ञान तथा आइसीटी मन्त्रालय (MSIT) र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA) को संयुक्त आयोजनामा सिओलमा भएको फोरमलाई मन्त्री खरेलले डिजिटल नेपाल तथा डिजिटल रूपान्तरणका दृष्टिले फलदायी भएको बताउनुभयो।
सो अवसरमा मन्त्री खरेलसँग उहाँका स्वकीय सचिव उद्धव भट्टराई र दक्षिण कोरियामा रहेका नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फे पनि सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय