काठमाडौं,  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बालुवाटारमा करिब एक घण्टा लामो छलफल गर्नुभयो। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार छलफलमा सरकार र राजनीतिक दल दुवैतर्फबाट भएका तयारी, आगामी दिनमा गर्नुपर्ने काम र निर्वाचनलाई सफल बनाउन आवश्यक राजनीतिक प्रतिबद्धताबारे खुलेर कुराकानी भएको थियो।

प्रधानमन्त्री कार्कीले दलहरूको स्पष्ट प्रतिबद्धता निर्वाचनप्रति आवश्यक रहेको बताउनुभयो। छलफलका क्रममा कांग्रेस महामन्त्रीद्वयले पार्टी औपचारिक निर्णयको तयारीमा रहेको र निर्वाचनमा जान प्रतिबद्ध रहेको जानकारी दिनुभयो। औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय गर्छौ। नेकपा (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्, हामी पनि प्रयास गर्छौ।

उहाँहरूले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद अघि बढाउने जानकारी दिनुभयो। साथै, जेनजी र अन्य दलका मागमध्ये निर्वाचनअघि सम्बोधन गर्न सकिने र निर्वाचनपछिको संसद्को पहिलो बैठकले निर्णय गर्नुपर्ने विषयमा अहिले नै सहमति खोजिनु पर्ने धारणा राख्नुभयो।

प्रधानमन्त्री कार्कीले नेकपा (एमाले) नेतृत्वसँग पनि छलफलका लागि पहल गर्नुभएको छ। आज पार्टीको बैठकका कारण एमाले नेतृत्व अर्को दिन भेट्ने गरी बालुवाटारलाई जानकारी दिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय