- मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङ (H. E. Xi Jinping) को मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू २०८२ भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको ५ दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ।
- यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजित साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिई सो संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नुका साथै सो मार्फत् नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्नु रहेको थियो।
- सम्माननीय प्रधानमन्त्रीज्यूको यस भ्रमणबाट प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, बेइजिङबाट जारी भएका प्रेस विज्ञप्ति एवं भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मीबाट सम्प्रेषित समाचारहरूबाट अवगत भएकै छ।
- यस भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले २०८२ भदौ १४ (तदनुसार २०२५ अगष्ट ३०) गते चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङ (H. E. Xi Jinping) सँग थियानजिनमा भेट गरी दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल गर्नुभएको थियो।
- भ्रमणका दौरान चीनका महामहिम राष्ट्रपति र उहाँकी धर्मपत्नी म्याडम पेङ लियान (Madam Peng Liyuan) ले २०८२ भदौ १५ (तदनुसार २०२५ अगष्ट ३१) गते आयोजना गर्नुभएको स्वागत भोज (Welcome Banquet) मा सम्माननीय प्रधानमन्त्रीज्यू सहभागी हुनुभयो।
- सम्माननीय प्रधानमन्त्रीज्यू २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) गते थियानजिनमा आयोजित साङ्घाई सहयोग संगठन प्लस शिखर सम्मेलनमा सहभागी हुनुभयो ।
- साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो।
- थियानजिनमा रहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले थियानजिन नगरपालिकाको हुयिगुआन गाउँमा रहेको धानको पकेट क्षेत्रको भ्रमण गर्नुभयो। भ्रमणको दौरान उहाँले थियानजिनको प्रसिद्ध सियाओझान धानको ऐतिहासिक विकास र आधुनिक युगमा यसलाई कसरी पुनर्जीवित गरियो भन्नेबारे जानकारी हासिल गर्नुभयो। त्यसैगरी सम्माननीय प्रधानमन्त्रीज्यूले चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक संग्रहालयको पनि भ्रमण गर्नुभयो।
- थियानजिनमा आयोजित साङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता पश्चात् सम्माननीय प्रधानमन्त्रीज्यूले बेइजिङको भ्रमण गर्नुभयो । बेइजिङमा उहाँले चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्ग (H. Han Zheng) सँग २०८२ भदौ १७ (तदनुसार २ सेप्टेम्बर २०२५) गते द्विपक्षीय भेट गरी नेपाल-चीन सम्बन्धका विविध विषयहरूमा छलफल गर्नुभएको थियो। छलफल पश्चात् सम्माननीय प्रधानमन्त्रीज्यूको सम्मानमा चीनका महामहिम उपराष्ट्रपतिले आयोजना गर्नुभएको रात्रिभोजमा उहाँ सहभागी हुनुभयो ।
- सम्माननीय प्रधानमन्त्रीज्यू २०८२ भदौ १८ (तदनुसार ३ सेप्टेम्बर २०२५) गते चीन सरकारद्वारा बेइजिङमा आयोजित ‘80th Anniversary of the Victory of the Chinese People’s War of Resistance Against Japanese Aggression and World Anti-Fascist War’ समारोहमा सहभागी हुनु भयो।
- सम्माननीय प्रधानमन्त्रीज्यूको यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग भएको द्विपक्षीय भेटघाट र वार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग भएको वार्ताबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको छ।
- सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमण दलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय श्री पूर्ण बहादुर खड्का, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पाण्डे, सम्माननीय प्रधानमन्त्रीज्यूको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य माननीय श्री छबिलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव श्री अमृत बहादुर राई, चीनका लागि नेपालका महामहिम राजदूत डा. कृष्णप्रसाद ओली लगायत नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुभएको थियो।
- यस भ्रमणका क्रममा जनवादी गणतन्त्र चीन सरकारका तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यू तथा उहाँको प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका महामहिम राष्ट्रपति, महामहिम उपराष्ट्रपति तथा उच्च नेतृत्व र चिनियाँ जनतालाई नेपाल सरकार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
- सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणका विषयमा निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सु-सूचित गर्न पुर्याउनुभएको योगदानका लागि सम्पूर्ण सञ्चारकर्मीहरू हार्दिक धन्यवादका पात्र हुनुहुन्छ ।
- सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा उहाँले हार्दिक आभार व्यक्त गर्नु भएको छ ।



