पोखरा, संविधान संशोधनको बहस चलिरहेको भन्दै सांसद सोबिता गौतमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प नरहेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी रुपा गाउँपालिका, कास्कीको शनिबार कार्यालय उद्घाटन गर्दै सांसद गौतमले हिजोको दिनमा भ्रष्टाचारका काण्डको सूचना आम जनतासम्म नपुगेको र रास्वपाले सदन र सरकारमा रहेर उजागर गरेको उल्लेख गरिन् । हिजोको दिनमा संसदमा के हुन्छ भनेर जनतालाई थाहा नहुने तर अहिले रास्वपा सांसदले कुन भ्रष्टाचारको मुद्दा उठायो भनेर घरघरमा चर्चा हुने गरेको बताइन् ।
रास्वपा आएपछि भ्रष्टाचार कहाँ भयो, कसले गर्यो भनेर उजागर भइरहेको र जनताले थाहा पाइराखेको उनको भनाइ थियो । ‘रास्वपा आएपछि के भयो भन्दा भ्रष्टाचार गरेको थाहा भयो, कहाँ भयो भन्ने थाहा भयो । पोखरामा १० अर्ब बढी भ्रष्टाचार भएको थाहा भयो । वाइडबडीमा भ्रष्टाचार भयो भन्ने छर्लंग आएको छ । अनि त्यो वर्षौदेखिको गिरिबन्धुको भ्रष्टाचारमा अब संसदीय छानबिन समितिको नजिर बसालिहालियो । अब हाम्रो पनि पालो आउँछ भनेर त्यसलाई ढाकछोप गर्ने काम भएको छ । भुटानी शरणार्थी काण्डको फाइल खोलिएको थियो । प्रक्रिया धेरै अगाडि बढिसकेको थियो । अब हामीलाई छोड्दैनन् भनेर त्यसलाई पनि दबाउने काम गरिएको छ । यो जनताले देखेका छन्, मनमा राखेका छन्,’ उनले भनिन् । राजनीति पैसा कमाउने पेशा नभएको भन्दै सांसद गौतमलै नेताहरुले जनताको करको दुरुपयोग गरिरहेको बताइन् । नेपाली जनताका स-साना दु:ख सरकारले नदेखेको उनको भनाइ थियो ।
साना दलले साह्रै दुख दिए भनेर संविधान संशोधन गर्ने नाममा कांग्रेस एमाले सरकार बनेको भन्दै सांसद गौतमले थपिन्, ‘सरकार बनेपछिका हरेक दिनको पत्रिका पल्टाएर हेर्नुभयो भने कुनै न कुनै मुद्दा, घोटाला, जनतालाई दु:ख दिने खालको प्रयत्न भइरहेका छ । संविधान संशोधन त परको कुरा भयो । आजसम्म उहाँहरुले एउटा कमिटी बनाएर काम गरेका छैनन् । देखाउने एउटा जनतालाई, गर्ने काम अर्को । भएको के छ भन्दा जनताले उठाएका, रास्वपाले उठाएका यी विभिन्न मुद्दाहरु दबाउने काम भएको छ । जनताले भोलि थाहा पाइसकेपछि यी भ्रष्टाचारीलाई छोड्ने छैनन् ।’ भ्रष्टाचारहरुलाई अनदेखा नगर्न उनले जनतालाई अपिल गरिन् । पोखरामा ऋण लिएर एयरपोर्ट बनाउने तर सञ्चालनयोग्य नबनाउने जिम्मा कसले लिने भनेर प्रश्न गरिन् । ‘विदेशीसँग फलानो आयोजना बनाउँछौं भनेर ऋण लिने, त्यसको करको भारी जनतालाई बोकाउने, अनि त्यही ऋणबाट उनीहरुले भ्रष्टाचार गर्ने,’ उनले भनिन्, ‘यो कुरालाई जनताले स्वीकार्ने कि नस्वीकार्ने ?’
सांसद गौतमले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर मुद्दा लगाइएको बताइन् । ‘आज रवि लामिछानेलाई विशुद्ध व्यवसायिक विषयसँग सम्बन्धित भएको जहाँ उहाँको संलग्नता छैन भनेर संसदीय छानबिन समितिले भनिसकेको अवस्थामा पनि उहाँविरुद्ध जबरजस्ती राज्यविरुद्धको मुद्दा लगाइएको छ । राज्यविरुद्धको मुद्दा भ्रष्टाचार गर्नेलाई लगाउने कि भर्खरै उदाउँदै गरेको पार्टीको नेतृत्व दबाउनको लागि लगाउने ?’ उनले प्रश्न गरिन् । लामिछानेमाथि गरिएको दमनको जनताले हिसाब गर्ने उनको भनाइ थियो । ‘अहिले नेपाली जनता चेतनशील छन् । म धेरै ठाउँमा पुग्दा नेपाली जनताले भन्नुहुन्छ, रवि लामिछानेलाई त धेरै दुख दिए है । यो मैले भनेको होइन । आम जनताले भनिरहेका छन् । देशव्यापी रुपमा संगठन निर्माणमा हरेक ठाउँमा जाँदा भेटेको नेपाली जनताको आवाज हो,’ उनले भनिन् । लामिछानेलाई न्यायालयले न्याय दिने उनले विश्वास व्यक्त गरिन् ।
गौतमले मिसन ०८४ कुनै दलको विशेष कुराभन्दा पनि नेपाली जनताले निर्णायक इच्छा व्यक्त गर्ने अभियान रहेको उल्लेख गरिन् । देश बनाउनको लागि कोही नआउने भन्दै उनले आफै प्रत्यक्ष रुपमा सक्रिय हुन अपिल पनि गरिन् । ‘अबको नेपालको निकास भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीबाट नै हो । नेपाली जनताले प्रत्यक्षरुपमा फलानो प्रधानमन्त्री भयो भने मात्र परिवर्तन हुन्छ भनेर अपेक्षा गरिरहनुभएको छ । त्यसले मात्र नेपाललाई विकासको गतिमा अगाडि बढाउन सक्छ,’ उनले भनिन् । संविधान संशोधनको बहस चलिरहेको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प नरहेको बताइन् ।
सरकारको नीति तथा कार्यक्रम पुरानै कुराहरुको निरन्तरता भएको र शब्दहरुमात्रै थपिएको उनको टिप्पणी छ । ‘नयाँ हो कि भन्यो जस्तो बनाएर ल्याइएको छ,’ उनले भनिन् । उनले महत्त्वाकांक्षी नीति कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनता आजित भएको बताइन् ।
सांसद गौतमले सरकार नियतवश नियन्त्रणमुखी बाटोमा रहेको उल्लेख गरिन् । चौथो दलकारुपमा रास्वपाबाट बोल्छौ भन्दा संसदमा माइक नपाएको सुनाउँदै गौतमले आक्षेप लगाउने थलोका रुपमा संसद अनिर्णयको बन्दी बनिरहेको बताइन् ।




