प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनसम्बन्धी विषयमा छलफल भएको छ । बालुवाटारमा बुधबार साँझ सम्पन्न बैठक पछि गृहमन्त्री रमेश लेखकले शिक्षकहरूको माग छिटो सम्बोधन गर्न सरकार गम्भीर रहेको र आउँदो संसद् अधिवेशनमा शिक्षासम्बन्धी विधेयक टुंग्याउने विश्वास व्यक्त गर्नुभएको छ । सरकार सञ्चालनमा कुनै समस्या नरहेको गृहमन्त्री लेखकले बताएका छन् । बैठकमा दुई शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवासहित एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल त्यस्तै कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा आरजुराणा देउवा सहभागी हुनुहुन्थ्यो ।




