
इन्दिरा निरौला
चैतको चिसो हावाले अब जुरुक्क न्यानोपन बोकेको छ।
बाटामा सुतिरहेका बोटबिरुवाले पलुवाका आँखाले संसार हेर्न थालेका छन्।
कुहिरो हट्दै छ, घाम फाट्दै छ—
सृष्टि आफैँले नयाँ कथा लेख्न थालेको छ।
कोइली, ओ कोइली!
कति मिठो छ तेरो स्वर!
जुन पहाडको चुली चुलीमा घन्कन्छ,
जसले वनपाखा झस्काउँछ,
मेरो मन पनि त्यसै झस्कन्छ—
वसन्त आइरहेको छ भनेर।
धरतीले लुगाफेरिरहेकी छ—हरियालीको।
फूलहरूले ढकमक्क हाँसेका छन्,
बयल झारको पत्रहरूले हावासँग गफ गरिरहेका छन्।
यी सबै दृश्यहरू, मेरो आत्मासँग बोलिरहेका छन्।
“हो, जीवन फेरि जाग्ने बेला भयो,”
“अब बिउहरू भित्रको मौनता टुट्नेछ,”
“र पुनः एक चोटि पृथ्वी सिङारिनेछ।”
वसन्त केवल रितु होइन,
यो त पुनर्जन्म हो,
समयको साथ सँगै चैत वैशाखको पारिलो घाममा नयाँ वसन्तको जन्म हो।
शीतले चिस्याएको मन,
अब घामसँग रमाउन थाल्छ।
चैत–वैशाखको यो पल,
मेरो हृदयमा कविता बनी पस्दछ।
वसन्तको पहिलो हावासँगै,
मेरो मुटुमा पनि एउटा नयाँ पाना पल्टिन्छ।



