काठमाडौं: नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ। बैंकका अनुसार इच्छुक नेपाली नागरिकले असोज २६ गते (१२ अक्टोबर २०२६) सम्म आवेदन दिन सक्नेछन्। १८ वर्ष उमेर पूरा भएका र नवीन उद्यमशील सोच भएका व्यक्तिले आवेदन दिन सक्नेछन्।
छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ। बैंकले महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका प्रतिबद्ध उद्यमीलाई आवेदन दिन प्रोत्साहन गरेको छ।

नबिल एसएसईमार्फत हालसम्म १ हजार ५८० जनालाई तालिम प्रदान गरिएको बैंकले जनाएको छ। तालिमपछि ३१८ वटा उद्यम स्थापना भई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १९ हजार ३०३ जनाका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ।
फेलोसिपका ६ समूहबाट ११३ जना प्रशिक्षित भइसकेका छन् भने ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा छन्। त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन् र २२५ वटा उद्यम स्थापना भएका छन्।
सन् २०२१ मा सुरु भएको नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो भने सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो।
यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत सञ्चालन हुँदैछ। कार्यक्रमसम्बन्धी थप जानकारी तथा आवेदन प्रक्रिया नबिल बैंकको वेबसाइट, आधिकारिक सञ्चारमाध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
आवेदन तथा थप जानकारी: नबिल बैंकको आधिकारिक आवेदन पृष्ठ



