काठमाडौँ । घरपझोङ गाउँपालिकाबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सहयोगी निकाय तथा विज्ञहरु समेतको सहयोग र सहभागितामा सम्वत् २०८३ भाद्र ३० र ३१ गते घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३ को आयोजनाले काठमाडौँ महानगरपालिका निकै खुसी छ । यस प्रकारको समय सान्दर्भिक सम्मेलन आयोजना गरिएकोमा घरपझोङ गाउँपालिकालाई बधाई र धन्यवाद व्यक्त गर्न चाहन्छु ।
विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण परेको नकारात्मक असरहरुको बारेमा सर्वत्र चर्चा हुन जरुरी छ । ठाउँ र समय अनुसार जलवायु परिवर्तनको असर फरक फरक प्रकृतिमा देखिन थालेको छ । जलवायु परिवर्तनले प्रकृति, समग्र प्राणी तथा वनस्पतिको प्रणाली र प्रत्येक व्यक्तिको जीवन पद्दतिमा व्यापक परिवर्तन आएको छ । यसको गहन मूल्यांकन गरी त्यस प्रकारको परिस्थिति न्यूनिकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने विज्ञानसम्मत उपायहरुमा वैश्विक चेतना र अग्रगामी कदम चाल्न ढिला भईसकेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्, रोगव्याधी, प्राकृतिक असन्तुलन, तापक्रममा अनपेक्षित वृद्धि, साँस्कृतिक पर्यावरण तथा जैविक विविधता र वासस्थानमा आएको उतारचढावले ब्रम्हाण्डको भविष्य माथि नै चिन्ता खडा गरी दिएको छ । अबको विश्व मानव समाजले यसतर्फ चिन्तन गर्नुको विकल्प देखिदैन ।

जलवायु परिवर्तन र त्यसका असरहरुको सम्बन्धमा छलफल भईरहदा असर पछिको क्षतिपूर्ति भन्दा असर नआउने सुनिश्चिततातर्फको कार्यकारण पहिचान गरी त्यसतर्फ लगानी बढाउनु पर्छ । वातावरण न्याय उपचरात्मक नभई वितरणात्मक न्याय केन्द्रित हुनुपर्छ । हालै आएको भोटेकोशीको बाढीको कारण भएको जनधनको क्षति समेतलाई दृष्टिगत गरी आगामी दिनमा सम्भावित बाढी, पहिरो, भुक्षय, डुवान, खडेरी, अनावृष्टि, अतिवृष्टि, महामारी जस्ता विपद् नआउने पूर्वाधारमा लगानी बढाउन अपरिहार्य छ ।
नेपालको सन्दर्भमा हिमाल, पहाड, तराई, उपत्यका र बेसी सबै सबै जलवायु परिवर्तनका कारण प्रभावित हुने क्षेत्रका रुपमा परिचित छन् । स्थान विशेष प्रभावित हुने आधार र कारण फरक हुन सक्छ तर कुनै पनि क्षेत्र पूर्ण रुपमा सुरक्षित देखिदैन । यी सबै पक्ष केन्द्रित भई सम्मेलनमा घनीभूत विमर्श हुने विश्वास गरेकी छु ।
सम्मेलनमा सहभागी भई योगदान गर्ने तिव्र इच्छा रहँदा रहँदै पनि केही प्राविधिक कारणले गर्दा सम्मेलनमा भौतिक रुपमा उपस्थित हुन नसकेकोमा निकै दुःखी छु । महत्वपूर्ण सम्मेलन आयोजना गरेकोमा पुनः घरपझोङ गाउँपालिकालाई बधाई दिदै सम्मेलनको पूर्ण सफलताको लागि हार्दिक शुभावना व्यक्त गर्दछु ।



