२३ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर जेनजी शहीद दिवस मनाइँदैछ।
यसै अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा जेनजी शहीद परिवार कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा सरकारका विभिन्न मन्त्री, प्रतिनिधिसभा सदस्य, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको छ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषिमन्त्री गिता चौधरी लगायत सहभागी भएका छन्।
स्मृति कार्यक्रममा जेनजी शहीदका परिवारहरूले आफ्ना दिवंगत आफन्तको सम्झनामा दीप प्रज्वलन तथा माल्यार्पणसमेत गरेका छन्। शहीद परिवारका सदस्यहरू भावुक बनेका थिए।
सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदासमेत दिएको छ। गत वर्ष भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट भदौ २४ गते भएको प्रदर्शनसमेत जोड्दा दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ७६ जनाको मृत्यु भएको थियो।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित यस स्मृति दिवसमा शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै उनीहरूले उठाएका मुद्दा तथा परिवर्तनका आकांक्षालाई सम्बोधन गर्नुपर्ने आवाजसमेत उठिरहेको छ।



