काठमाडौं: प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा भएको विवाद सेलाउन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीमाथि फेसबुकमार्फत पुनः कडा प्रहार गरेका छन्।
प्रहरीको पोसाक तथा रासन खरिदमा अरबौँको घोटाला भएको र त्यसको सीधा असर गरिबका छोराछोरी, म्यादी प्रहरी र तल्लो तहका सिपाहीमा परेको दाबी गर्दै सुनारले कडा आपत्ति जनाएका हुन्। यसअघि समिति बैठकमा आइजीपी कार्कीलाई तत्काल निलम्बन गरी छानबिन गर्न माग गरेपछि कार्कीले उनलाई ‘पाषाणयुगीन सोच’ भएको शासकको रूपमा टिप्पणी गरेका थिए।
सभामुख र आफ्नै दलका नेताहरूबाट समेत विवादित विषयमा नबोल्न सुझाव पाएपछि सुनारले सामाजिक सञ्जालमा लेख्दै आफ्नो अडान कायमै राखेका छन्। उनले लेखेका छन्, “गरीबका छोरा–छोरी, म्यादी, सिपाही, हवल्दार भएका छन: ती गरिबका जुत्ता, मोज, कट्टु, रासन खाएको अरबौँको गम्भीर र ठूलो मुद्दा परेको छ।” आइजीपी कार्कीको प्रतिवादप्रति लक्षित गर्दै उनले थपे, “मुद्दा लागेको व्यक्तिले बयान दिने हो— प्रवचन दिने हैन! जुत्ता लगाउने हो— खाने हैन!!”

बर्दी र फुलीको धम्की देखाएर सुशासनको मुद्दा नसकिने भन्दै सांसद सुनारले राज्यमा १ हजार अर्बभन्दा धेरै बेरुजु रहेको तथ्यांक पनि प्रस्तुत गरेका छन्। जनताको मुख तितो हुन नदिन र पिछडिएका वर्गको अधिकारका लागि आफू जस्तोसुकै मूल्य चुकाउन र ‘बिरालोको घाँटीमा घण्टी बाँध्न’ तयार रहेको उनको उद्घोष छ।



