काठमाडौं: ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको विशेष सक्रियतामा मार्कीचोक–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । शनिबार दिउँसो ३ बजेदेखि उक्त लाइनबाट सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
विगत लामो समयदेखि स्थानीयस्तरमा रहेका समस्या र अवरोध हटाउन मन्त्री श्रेष्ठ आफैँ फिल्डमा खटिएका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि, वडाध्यक्ष तथा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी प्रसारण लाइन सञ्चालन गर्ने वातावरण तयार पारेका हुन् ।

ट्रिपिङको समस्या समाधान, प्रणाली थप सुदृढ
यो प्रसारण लाइन सञ्चालन भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकले भोग्दै आएको ट्रिपिङ र ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या समाधान हुनेछ । तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म जोडिएको यो लाइनले देशको समग्र विद्युत प्रसारण प्रणालीलाई थप सन्तुलित र भरपर्दो बनाउने मन्त्रालयको विश्वास छ ।
यस विषयमा खुसी व्यक्त गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले भने:
“यस प्रसारण लाइनको सञ्चालनसँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ । ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या न्यूनीकरणमा यसले महत्त्वपूर्ण योगदान पुर्याउनेछ । यो नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धिको यात्रामा अर्को महत्त्वपूर्ण कदम हो ।”
निजी क्षेत्रका आयोजनालाई ठूलो राहत
विशेषगरी वर्षायाममा चितवन र आसपासका क्षेत्रमा निजी क्षेत्रद्वारा सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको बिजुली प्रसारण लाइनको अभावमा खेर जाने वा कम क्षमतामा पावर हाउस चलाउनुपर्ने बाध्यता थियो । अब ती आयोजनाहरूबाट उत्पादित सम्पूर्ण विद्युत् सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट देशको स्वच्छ ऊर्जालाई राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित गर्न यो सफलता कोसेढुङ्गा साबित हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।



