काठमाडौँ:  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरूलाई तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष बैठकमा उहाँले अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा अन्य वस्तुको मूल्य घटिसकेको अवस्थामा नेपालमा पनि सोहीअनुसार उपभोक्ताले राहत पाउनुपर्ने बताउनुभयो।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ तथा चामल, दाल र तेल व्यवसायी महासंघका प्रतिनिधिहरू सहभागी थिए। व्यवसायीहरूले आफ्ना समस्या तथा सुझाव राखेपछि मन्त्री यादवले अनियन्त्रित बजार भाउका कारण सर्वसाधारण नागरिकहरू मारमा परेको उल्लेख गर्दै कुनै पनि बहाना नबनाई मूल्य घटाउन आग्रह गर्नुभयो।

उहाँले नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक उपभोग्य वस्तुको मूल्य तत्काल पुनरावलोकन गरी उपभोक्तामैत्री बजार वातावरण बनाउन निर्देशन दिनुभयो। प्रधानमन्त्री तथा सरकारको समेत यस विषयमा विशेष चासो रहेको उल्लेख गर्दै बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालय सक्रिय रहने बताउनुभयो।

बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि आम उपभोक्तालाई राहत पुग्ने गरी मूल्य समायोजन गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। प्रारम्भमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीले उपभोक्ता संरक्षण ऐनका प्रावधानबारे संक्षिप्त प्रस्तुति दिनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय