काठमाडौं: सम्पत्ति शुद्धीकरणसहित विभिन्न आर्थिक कसुरमा अभियोग खेपिरहेका दिपक भट्ट को ६ करोड ३० लाख रुपैयाँ मूल्यको ‘०१–०३३ च १’ नम्बर प्लेट भएको गाडी जफत गरिएको छ।
विशेष अदालत ले बुधबार भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदै उक्त गाडी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको जिम्मा लगाउन निर्देशन दिएको हो।

अदालतको आदेशसँगै गाडी सरकारी नियन्त्रणमा गएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतमा अभियोग दर्ता गर्दा उक्त गाडीलाई पनि प्रमाणका रूपमा पेस गरेको थियो।
अदालतले गाडीको स्वामित्व र स्रोतबारे अनुसन्धान जारी रहेकाले त्यसलाई व्यवस्थापन विभागमार्फत राख्न आदेश दिएको जनाएको छ।
अदालतले भट्टबाट बरामद भएका मोबाइल फोन अदालतको जिन्सी शाखामा राख्न तथा बरामद विदेशी मुद्रा अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंक मा बुझाउन पनि आदेश दिएको छ।
यसै मुद्दामा पक्राउ परेका सुलभ अग्रवाल लाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ।
अदालतले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो ले अनुसन्धान गरेका थिए। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र कारोबार तथा विदेशी विनिमय सम्बन्धी कानुन उल्लंघन गरेको आरोप छ।
अनुसन्धान निकायले भट्टको हकमा २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी र अग्रवालको हकमा २५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ। मुद्दामाथिको सुनुवाइ भने अझै जारी छ।




