काठमाडौं: नेपालको ६४ लाख थान पासपोर्ट छपाई ठेक्का प्रकरणमा भएको आर्थिक चलखेल र विवादलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूक्ष्म अनुसन्धान अघि बढाएपछि पर्दा पछाडिका थुप्रै हाइप्रोफाइल पात्रहरू तानिने सम्भावना बढेको छ।
यस खेलमा नेपालको तर्फबाट भित्री व्यवस्थापन मिलाउने मुख्य पात्रका रूपमा व्यवसायी दिप्ती सिङ र उनको नेतृत्वमा रहेको ‘डीजिहब’ (Digihub) नामको आईटी कम्पनी देखिएको छ।

दिप्ती सिङको भूमिका: नेपालको तर्फबाट पासपोर्ट ठेक्कापट्टाको सम्पूर्ण व्यवस्थापनको काम दिप्ती सिङले सम्हालेकी थिइन्। उनको आईटी कम्पनी ‘डीजिहब’ मार्फत यो खेल रचिएको र उनी अहिले अख्तियारको अनुसन्धानको मुख्य घेरामा परेकी छिन्। केपी शर्मा ओली नेतृत्वको सरकार र डा. आरजु राणा परराष्ट्रमन्त्री भएको समयमा फ्रान्सेली कम्पनी ‘आइडीमिया’ लाई पन्छाएर जर्मनका दुई कम्पनीहरू (म्युहलबौयर र भेरिडोस) लाई करिब ७ अर्ब ६६ करोडको ठेक्का सुम्पिएपछि यो विवाद सुरु भएको हो।
सेटिङ गरेर जर्मन कम्पनीलाई ठेक्का दिलाएको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र जर्मन कम्पनीका नेपाली एजेन्ट सिद्धार्थ थापा पक्राउ परिसकेका छन्। दिप्ती सिङ र उनको कम्पनी डीजिहबसँगै तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा, जयबिर देउवा, सिद्धार्थ पाण्डे, नवीन तुलाधार, राजेश तुलाधार र मुनिन्द्र मल्ल लगायतका शक्तिशाली पात्रहरू समेत यस प्रकरणमा तानिने स्रोतको दाबी छ।



