काठमाडौँ: पूर्वसांसद वामदेव गौतमले गत माघ ४ गते राजीनामा दिएपछि राष्ट्रिय सभामा रिक्त रहेको एक मनोनीत सिट साढे चार महिनादेखि खाली रहे पनि पूर्वगृहमन्त्री ओम प्रकाश अर्यालको नियुक्ति भने सदर हुन सकेको छैन।
तत्कालीन सरकारले गत चैत १ गते अर्याललाई सो पदका लागि सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई सदर नगरेको र गत फागुन २१ गते रास्वपा संसदीय दलका नेता बालेन (बालेन्द्र) शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि पनि यसबारे कुनै निर्णय हुन नसक्दा सिट रिक्त नै रहेको हो।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित र बाँकी तीन जना सरकारको सिफारिसमा राष्ट्रिय जीवनका प्रख्यात विज्ञहरूमध्येबाट राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था रहेकामा हाल नारायण प्रसाद दाहाल र डा. अन्जान शाक्य मात्र मनोनीत सदस्यका रूपमा बहाल हुनुहुन्छ।




