काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न समयमा अध्ययन तथा असाधारण बिदामा बसेर सम्पर्कविहीन भएका र राष्ट्रिय किताबखानामा अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीहरूलाई आगामी तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन कडा निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै नेपाल सरकारका सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्ना निकायबाट बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण यकिन गर्न र बिदा अवधि सकिएपछि पनि हाजिर नभएकाहरूको अभिलेख तुरुन्त अद्यावधिक गराउन अनुरोध गरेको छ।

तोकिएको तीन दिनको समयसीमाभित्र कर्मचारीहरूले आफ्नो अभिलेख अद्यावधिक गराई हाजिर नभएमा मन्त्रालयले उनीहरूमाथि तत्कालै कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ।




