काठमाडौं: मध्यपूर्वमा शान्ति वार्ता ठप्प भएसँगै संयुक्त अरब इमिरेट्स (यूएई) को आणविक पावर प्लान्टमा भएको भयावह ड्रोन आक्रमणले विश्वव्यापी ऊर्जा बजारमा ठूलो धक्का दिएको छ ।
एसियाली बजार खुल्ने बित्तिकै विश्वव्यापी मानक मानिने ब्रेन्ट क्रुडको मूल्य १.८५ प्रतिशतले बढेर प्रति ब्यारेल १११.२८ अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्ल्युटीआई (WTI) पनि २.३२ प्रतिशतले वृद्धि भई १०७.८७ डलर कायम भएको छ ।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको बदलास्वरूप इरानले विश्वकै कुल इन्धन आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओगट्ने रणनीतिक ‘होर्मुज जलमार्ग’ बन्द गरेपछि बजार पहिले नै अस्थिर थियो ।
हालैको यस आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘समयमै नसच्चिए केही बाँकी नराख्ने’ कडा सैन्य धम्की दिएका छन् भने इरानले अमेरिकाकै हठका कारण वार्ता ‘अनिर्णयको बन्दी’ बनेको दाबी गरेको छ; वार्ताका सबै ढोका बन्द हुँदै जाँदा ट्रम्पले सैन्य विकल्पबारे छलफल गर्न शीर्ष सुरक्षा सल्लाहकारहरूको आपत्कालीन बैठक बोलाएपछि विश्वभर फेरि इन्धन संकट र महँगी चुलिने खतरा बढेको छ ।



