काठमाडौं: काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका फाइलहरू सात दिनभित्र किनारा लगाएर ‘पेन्डिङ’ शून्य बनाउन र बजेट सिध्याउने नाममा गुणस्तरहीन काम नगर्न कडा निर्देशन दिनुभएको छ।
महानगरको पाक्षिक समीक्षा बैठकमा उहाँले प्रक्रिया पुगेका फाइल स्वीकृत गर्न र नपुगेकाको कारण खुलाएर तुरुन्त फिर्ता पठाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै खर्चको मात्रा भन्दा पनि कामको नतिजा र गुणस्तरलाई प्राथमिकता दिन वडा सचिवहरूलाई आग्रह गर्नुभयो।

हाल महानगरको खर्च ४०.९४ प्रतिशत रहेको अवस्थामा बेरुजु फर्स्योट, राजस्व संकलनमा प्रभावकारिता, सार्वजनिक जग्गाको संरक्षण र अनलाइन सेवालाई चुस्त बनाउन जोड दिइएको यस छलफलमा वडाको वर्गीकरण अनुसार विनियोजित बजेटको सही सदुपयोग गर्दै जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।




