१७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ को वडा कार्यालय र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एच को सहकार्यमा “ज्येष्ठ नागरिक: स्वस्थ जीवन, सुरक्षित भविष्य” भन्ने मूल नाराका साथ शनिबार वडा कार्यालयको परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा जीवन विज्ञानका तर्फबाट रमेश नेपाल र आर्ट अफ लिभिङका तर्फबाट सुधा कार्की मुख्य वक्ताको रूपमा रहनुभएको थियो। कार्यक्रममा भारतका लागि पूर्वराजदूत दुर्गेशमान सिंहको पनि विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी, कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर उद्धव सिलवाल, आइपीडीजी रविन्द्रबहादुर प्रधान, पीडीजी विमलकुमार होडा र पीडीजी जीवराम प्रधानलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्यप्रसाद श्रेष्ठले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई उच्च हौसला प्रदान गर्ने बताउनुभयो। कार्यक्रमका वक्ता रमेश नेपालले ज्येष्ठ नागरिकहरूलाई जीवन जिउने कला, मानसिक तथा शारीरिक रूपमा कसरी स्वस्थ र तनावमुक्त रहने भन्ने विषयमा गहिरो ज्ञान दिनुभयो। त्यसैगरी, अर्का वक्ता सुधा कार्कीले उपस्थित ज्येष्ठ नागरिकहरूलाई योग, ध्यान र चिन्तनको माध्यमबाट जीवनमा कसरी सुखी र खुसी रहन सकिन्छ भन्ने बारेमा सिकाउनुभयो।
अध्यात्म र योगको माध्यमबाट ज्येष्ठ नागरिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमबारे प्रकाश पार्दै डिस्ट्रिक्ट गभर्नर उद्धव सिलवालले यो कार्यक्रम नितान्त ज्येष्ठ नागरिकहरूको सम्मान, उनीहरूको इतिहासको जगेर्ना र आगामी दिनमा सुरक्षित भविष्य निर्माणका लागि केन्द्रित रहेको बताउनुभयो।
यसअघि बालबालिका तथा युवाहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू गर्दै आएको लायन्सले आगामी दिनमा तीन वटै क्लस्टरलाई जोडेर अझै ठूलो र भव्य रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। उल्लेख्य संख्यामा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।






