काठमाडौँ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर करिब एक वर्षको पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।
कम्पनीले सोमबार बिहान १० बजेदेखि टंगाल स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुला गरेको हो। स्टोर पुनः सञ्चालनको खुसीयाली बाँड्न भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफैँ टंगाल स्टोर पुगेका थिए।

गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले टंगालस्थित स्टोरमा आगजनी गर्दा भारी भौतिक क्षति पुगेको थियो। भीषण आगलागीपछि बन्द भएको उक्त स्टोरलाई आधुनिक ढङ्गबाट पुनर्निर्माण गरी पुरानै सेवा-सुविधासहित सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
आन्दोलनका क्रममा काठमाडौँ उपत्यका र बाहिर गरी भाटभटेनीका १२ वटा स्टोरहरू प्रभावित भएका थिए। त्यसमध्ये मर्मत तथा पुनर्निर्माण सम्पन्न गरेर १० वटा स्टोरहरू पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी २ स्टोर पनि छिटै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।



