काठमाडौं — काठमाडौं मेडिकल कलेज (केएमसी) मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्‍याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो ।
टाकायासु आर्टेराइटिस भनिने रोगका कारण उनको मस्तिष्कमा रगत पुर्‍याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए । त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनी अचानक बन्द हुँदा उनलाई मस्तिष्कघात भएको थियो । एकै बिरामीमा लामो समयदेखि बन्द धमनी खोल्नु र अचानक बन्द भएको धमनीबाट रगतको डल्लो निकाल्नुपर्ने भएकाले उपचार निकै चुनौतीपूर्ण थियो ।
न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा उपचार गरिएको हो । डा. पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानबाट स्नायुरक्तनली उपचारमा उच्च विशेषज्ञता हासिल गरेका छन् । उनी हाल केएमसीमा उक्त सेवाको नेतृत्व गरिरहेका छन् । उपचार टोलीमा डा. प्रवीण खत्री पनि संलग्न थिए ।
टाउको नखोली रक्तनली हुँदै गरिएको उपचारमा लामो समयदेखि बन्द रहेको धमनीलाई विशेष बेलुनको सहायताले फराकिलो पारियो । त्यसपछि रक्तनली खुला राख्न विशेष जाली राखेर रक्तसञ्चार पुनःस्थापित गरियो । लगत्तै मस्तिष्कको दायाँ मध्य धमनीमा अड्किएको रगतको डल्लो यान्त्रिक विधिबाट निकालियो । यसपछि मस्तिष्कमा पुनः रक्तप्रवाह गराइएको थियो । उपचारकै क्रममा बिरामीमा उल्लेखनीय सुधार देखिएको डा. पौडेलले बताए । उनले उपचारकक्षमै चिकित्सकलाई धन्यवादसमेत दिएकी थिइन् । ‘लामो समयदेखि पूर्ण रूपमा बन्द भएको धमनी खोल्नुका साथै त्यही समयमा भएको मस्तिष्कघातको तत्काल उपचार गर्नुपर्ने अवस्था थियो,’ पौडेलले भने, ‘यो केस मेरो ६ वर्षको उपचार यात्राकै स्मरणीय र चुनौतीपूर्ण घटनामध्ये यो एक हो।’
बिरामीको उपचार तथा थप व्यवस्थापनमा स्नायुरक्तनली उपचार, स्नायु रोग, बाथरोग, बेहोस पार्ने तथा सघन उपचार र मुटुरोग विशेषज्ञबीच समन्वय गरिएको थियो ।
टाकायासु आर्टेराइटिस शरीरमा रगत बगाउने ठूला नलीमा समस्या गराउने दुर्लभ रोग हो । यसले रक्तनली साँघुरो वा बन्द गराउन सक्छ । त्यसले मस्तिष्कलगायत विभिन्न अंगमा पर्याप्त रगत पुग्न समस्या हुन्छ । चिकित्सकका अनुसार आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र विभिन्न विशेषज्ञको समन्वय भए नेपालमै यस्ता जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी उपचार सम्भव छ ।
केएमसीका सञ्चालक तथा पूर्व सांसद् सुनीलकुमार शर्मा स्वास्थ्य उपचारलाई आम नागरिकको पहुँचमा पुर्‍याउने अभियानमा सक्रिय छन् । उनको पहलमा केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउनेदेखि जटिल रोगका बिरामीको उपचारमा सहयोग गर्नेसम्मका काममा केएमसी सक्रिय रहँदै आएको छ । पछिल्लो पटक भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको केएमसी अस्पतालमा निःशुल्क उपचार गरिदिने घोषणा पनि शर्माले गरेका छन् । जनप्रतिनिधि हुँदा पाउने तलब–भत्तासमेत नलिएका शर्मा विपद्का बेला प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन र उपचार सेवा पुर्‍याउने काममा समेत सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय