काठमाडौं । एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा बजारमा कालोबजारी बढेको गुनासो आउन थालेको छ। उपभोक्ताले तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको तथा कतिपय स्थानमा ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको गुनासो गरेका छन्।
नेपाल आयल निगमले १४.२ किलोको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ तोकेको थियो।

तर, पछिल्लो समय ढुवानीमा समस्या देखिएपछि उद्योगी पक्षले प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ लागत कायम भएको जनाएको छ। कृष्णभीरमा पहिरोका कारण वैकल्पिक बाटोबाट ग्यास ढुवानी गर्दा भाडा बढेको उद्योगीहरूको भनाइ छ।
यसैबीच, बजारमा वास्तविक मूल्यभन्दा बढी रकम असुल्ने, ग्यास लुकाएर राख्ने तथा आवश्यकताभन्दा बढी मूल्यमा बिक्री गर्ने प्रवृत्तिले उपभोक्ता थप मारमा परेका छन्।
उपभोक्ताले ग्यासको आपूर्ति नियमित बनाउन, बजार अनुगमन तीव्र पार्न र कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।



