काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम सहिदको अनुहार नमिलेको भन्दै स्थगित भएको छ। सालिक तयार भएपछि सहिद परिवारका सदस्यहरूले अनुहार नमिलेको भन्दै आपत्ति जनाएपछि अनावरण कार्यक्रम रोकिएको हो।
सहिदको सम्मानमा निर्माण गरिएका सालिकमै यस्तो त्रुटि कसरी भयो भन्ने प्रश्न उठेको छ। करिब ६० लाख रुपैयाँ खर्च भएको भनिएको पार्क तथा सालिक निर्माणमा कसले जिम्मेवारी लियो, निर्माणको गुणस्तर कसरी जाँच गरियो र खर्च भएको रकमको विवरण सार्वजनिक गरिएको छ कि छैन भन्ने विषयमा समेत चासो बढेको छ।

सहिदका सालिक तथा पार्क निर्माणका लागि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ४२ सहिदका सालिक निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका थिए। तर, निर्माणका लागि सरकारले बजेट सुनिश्चित नगरेपछि काम अघि बढ्न ढिलाइ भएको बताइएको छ।
पछि सहिद परिवार तथा समाजसेवीहरूको पहलमा ग्लोबल आइएमई बैंकसँग आर्थिक सहयोग मागिएको थियो। बैंकबाट सहयोग प्राप्त भएपछि पार्क तथा सालिक निर्माणको काम अघि बढाइएको बताइएको छ।
स्रोत व्यवस्थापनमा ढिलाइ हुँदा निर्माण केही समय प्रभावित भए पनि बैंकको आर्थिक सहयोगपछि काम अघि बढेको हो।
तर, करिब ६० लाख रुपैयाँ खर्च भएको भनिएको निर्माणमा सहिदकै अनुहार नमिल्ने गरी सालिक तयार हुनु सामान्य लापरबाही हो वा निर्माण प्रक्रियामै कमजोरी/अनियमितता भएको हो भन्ने प्रश्न भने उठेको छ। यसबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।



