काठमाडौं । चीनको तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएपछि नेपालले समयमै पूर्वसूचना किन पाएन भन्ने गम्भीर प्रश्न उठेको छ।
बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानी भोटेकोशी नदीमा प्रवेश गरेपछि रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेंसी क्षेत्रमा एक्कासि बाढी आएको स्थानीय प्रशासनले जनाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले आफूले बिहान करिब ९ः१५ बजे मात्रै तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना पाएको बताएका छन्।

यस घटनाले अब सबैभन्दा महत्वपूर्ण प्रश्न उठाएको छ—तिब्बततर्फ बाढीको जोखिमबारे कुनै पूर्वसंकेत थियो भने नेपाललाई समयमै किन जानकारी गराइएन?
नेपालका अधिकारीहरूले बाढी तिब्बततर्फबाट आएको बताएका छन्। तर बाढीको वास्तविक कारण भने अझै स्पष्ट भइसकेको छैन। केही अधिकारीले तिब्बतमा पहिरोले नदी थुनेर अचानक पानी फुटेको हुनसक्ने अनौपचारिक सूचना आएको बताएका छन्। अर्कोतर्फ, मौसमविद्हरूले रसुवामा भारी वर्षा नभएको र तिब्बती भूभागमा उल्लेख्य वर्षा भएको स्याटेलाइट तथ्यांकबाट देखिएको बताएका छन्।
यदि सीमापारबाट आउने यस्तो जोखिमबारे नेपालले केही समयअघि नै विश्वसनीय सूचना पाएको भए, रसुवागढी, टिमुरे, स्याफ्रुबेंसीदेखि नुवाकोट र धादिङका नदी किनारमा रहेका बस्तीलाई समयमै सुरक्षित स्थानमा सार्न सकिन्थ्यो कि सकिँदैनथ्यो? अहिले यही प्रश्न गम्भीर बनेको छ।
अझ महत्वपूर्ण कुरा, नेपाल र चीनबीच सीमापार विपद् तथा जलस्रोतसम्बन्धी सूचना आदानप्रदानको व्यवस्था भए पनि यस्तो आकस्मिक बाढीमा त्यो संयन्त्र कति प्रभावकारी रूपमा काम गर्यो भन्ने प्रश्न पनि उठेको छ।



