काठमाडौँ । रसुवामा आएको बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।

बैठकले प्रभावित नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रलाई आवश्यक जनशक्ति र स्रोतसाधनसहित प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ।
यस्तै, बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने तथा आवश्यकताअनुसार थप उद्धार तथा राहत सामग्री पठाउने निर्णयसमेत भएको छ।
प्रधानमन्त्री शाहले विपद्को यस अवस्थामा सबै सरकारी निकायबीच प्रभावकारी समन्वय गर्दै नागरिकको जीवनरक्षा र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।



