काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ।
युवाको भूमिका, सहभागिता र योगदानलाई प्राथमिकतामा राख्दै हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो।

युवा केन्द्रित विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस अघि बढाउने, नीति निर्माण र कार्यान्वयनमा युवाको सहभागिता बढाउने तथा युवाका लागि लगानी र साझेदारी विस्तार गर्ने दिवसको प्रमुख उद्देश्य रहेको छ। साथै युवामैत्री शासन प्रवद्र्धन र सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य बढाउन पनि दिवसले जोड दिँदै आएको छ।
दिवसको अवसरमा आज काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मूल समारोह आयोजना गरिएको छ। समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसँगै नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवद्र्धन विषयमा उच्चस्तरीय प्यानल छलफल हुँदैछ।
यसैगरी, भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड आयोजना गरिएको छ। दिवसकै अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारअन्तर्गत विभिन्न छ वटा व्यवसायलाई सम्मान गरिँदैछ भने सातै प्रदेशका युवा उद्यमीलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवसलाई विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका १ करोड २४ लाख १२ हजार १७३ जना युवा छन्। यो कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो।
युवा अवस्थालाई जोश, जाँगर, उत्साह र सिर्जनशीलताको महत्वपूर्ण चरणका रूपमा लिइन्छ। विविध सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य परिवेशबीच युवाको साझा आकाङ्क्षालाई जोड्दै अघि बढ्ने सन्देशसहित यस वर्षको दिवस मनाइँदैछ।



