काठमाडौँ:  सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालकी नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले नागरिकका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर सूचना, समाचार तथा कार्यक्रम उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिने बताउनु भएको छ।

पदभार ग्रहण गर्दै कार्यवाहक अध्यक्ष बस्न्यातले राज्यका प्राथमिकतासँगै सुशासनलाई केन्द्रमा राखेर जनचासो र जनअपेक्षालाई सम्बोधन गर्ने सामग्री उत्पादन तथा प्रसारण गरिने बताउनुभयो।

उहाँले विभिन्न चुनौतीका बाबजुद उपलब्ध अवसरको सदुपयोग गर्दै पिएसबीअन्तर्गतका नेपाल टेलिभिजन र रेडियो नेपालका समाचार तथा कार्यक्रमको विषयवस्तु र प्रविधिमा सुधार गर्दै संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यवाहक अध्यक्ष बस्न्यातलाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यालय परिसरमा स्वागत गर्दै कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाभित्र देखिएका जटिलता समाधान गर्दै राज्य र नागरिकप्रतिको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरिने बताउनुभयो।

गत असार ३२ गतेको सूचना तथा सञ्चारमन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको बैठकको अध्यक्षता गर्ने गरी सदस्य नियुक्त हुनुभएकी बस्न्यातलाई असार २१ गतेदेखि लागू हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय