काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउन सबै राजनीतिक दल एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक मतभेद स्वाभाविक भए पनि सामाजिक सद्भावमाथि आँच आउने विषयमा सबै दलको साझा धारणा हुनुपर्ने बताउनुभयो। उहाँले मुलुकमा कुनै पनि प्रकारको साम्प्रदायिक तनाव वा हिंसाले स्थान नपाओस् भन्नेमा सबै दल एकमत रहेको उल्लेख गर्दै यस्ता संवेदनशील घटनामा राजनीतिक दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक तनाव नियन्त्रण गर्न कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको बताउँदै सरकार भने आवश्यक सक्रियता देखाउन नसकी औपचारिक प्रतिक्रियामै सीमित भएको टिप्पणी गर्नुभयो।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नागरिकको सुरक्षा र सामाजिक शान्ति कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय एकता र सद्भाव जोगाउन सबै राजनीतिक शक्तिहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको घटना राज्यको बेवास्ताका कारण दोहोरिएको दाबी गर्दै धार्मिक रूपमा संवेदनशील विषयमा सरकारले गम्भीरता र समयमै पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवेदनशील अवस्थालाई थप जटिल बन्न नदिन सबै पक्षले संयमता अपनाउनुपर्ने र आपसी विश्वास तथा सामाजिक सद्भाव सुदृढ बनाउन संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।
सर्वदलीय बैठकमा महन्थ ठाकुर, सिके राउत तथा श्रम संस्कृति पार्टीका अध्यक्ष आरेन राईलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार बैठकपछि प्रमुख राजनीतिक दलहरूको संयुक्त हस्ताक्षरसहित सामाजिक सद्भाव कायम राख्न आग्रह गर्ने साझा अपिल सार्वजनिक गरिनेछ।



