अर्घाखाँची । बाँदर तथा बँदेलका कारण बालीनालीमा हुने क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर हेरालु’ नियुक्त गर्ने भएको छ।
अति प्रभावित क्षेत्रका किसानको खेती जोगाउने र मानव–वन्यजन्तु बीचको सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। डिभिजन वन कार्यालयका अनुसार जिल्लाका बाँदर प्रभावित २६ वटा क्षेत्रमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन समूहहरूसँगको लागत साझेदारीमा हेरालु खटाइनेछ।

आवेदन कसरी दिने?
इच्छुक तथा योग्य नागरिकले ६ साउनमा प्रकाशित सूचनाको मितिले ३ दिनभित्र आवश्यक कागजातसहित डिभिजन वन कार्यालयमा निवेदन दिन सक्नेछन्।
योग्यता र प्राथमिकता
-
उमेर: १८ देखि ४५ वर्ष।
-
स्थायी बासिन्दा: सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै हुनुपर्ने।
-
रुचि: वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा चासो भएको।
-
प्राथमिकता: सामुदायिक वन, वन हेरालु, नर्सरी हेरालु वा सोही प्रकृतिको काममा अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।
कार्यविधि र पारिश्रमिक
नियुक्त हुने हेरालुले १० साउनदेखि १० असोजसम्म (कुल दुई महिना) काम गर्नुपर्नेछ। उनीहरूले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।
मुख्य जिम्मेवारी
-
बाँदर तथा बँदेलको नियमित निगरानी गर्ने।
-
किसानहरूलाई समयमै जोखिमबारे सूचना दिने र आवश्यक समन्वय गर्ने।
-
बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा र वन कार्यालयमा रिपोर्टिङ गर्ने।
-
बाँदरलाई कुनै क्षति नपुऱ्याई मानवीय र वातावरणमैत्री तरिकाले खेतीयोग्य जमिनबाट प्राकृतिक बासस्थान (जङ्गल) तर्फ धपाउने।
पहाडी क्षेत्रमा वर्षभरिको पसिनाबाट हुर्काएको बाली पाक्ने बेला जङ्गली जनावरले नष्ट गरिदिने समस्या जटिल बन्दै गएको छ। यस कार्यक्रमले किसानको आर्थिक तथा मानसिक तनाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।




