काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योग सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल बढाउने, रोजगारी सिर्जना गर्ने तथा उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो।

प्रधानमन्त्री शाहले आर्थिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै उद्योग तथा निजी क्षेत्रमैत्री नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवाद आवश्यक रहेको सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने विश्वास दिलाउँदै आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो।
बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। उच्चस्तरीय छलफलले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी वातावरण सुधार तथा निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।



