काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त नेतृत्वलाई सरकारले तय गरेको राजस्व संकलन लक्ष्य हासिल गर्न पूर्ण इमानदारी र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभएको छ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री वाग्लेले भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि आवश्यक निर्देशन दिनुभएको हो।

सरकारको राजस्व संकलन गर्ने प्रमुख निकायको नेतृत्व सम्हाल्न लागेका अधिकारीहरूलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले व्यावसायिक वातावरण र कर्मचारीको मनोबल उच्च राख्दै राजस्व लक्ष्य प्राप्तिका लागि विशेष पहल गर्न आग्रह गर्नुभयो।
“व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी ‘मिसन १६ खर्ब’ का लागि इमानदारीपूर्वक लाग्नुस्,” मन्त्री वाग्लेले भन्नुभयो, “राजस्व चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले आवश्यक सबै सहयोग उपलब्ध गराउँछ।”
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व संकलन लक्ष्य पूरा गर्न भन्सार तथा आन्तरिक राजस्व प्रशासनको भूमिका निर्णायक रहनेछ। मन्त्रालयले कर प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने दिशामा समेत जोड दिएको छ।
हालै मन्त्रिपरिषद्को निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भई आएका सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको हो।






