काठमाडौं: उद्योग व्यवस्थापन समितिले काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रको अनुगमन गर्दै उद्योगहरूको भौतिक अवस्था, पूर्वाधार तथा श्रमिकको कार्यपरिस्थितिको अध्ययन गरेको छ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद रहबर अन्सारीले समितिले पहिलो चरणमा बालाजु औद्योगिक क्षेत्रभित्र रहेका बिस्कुट उद्योग, बोटलर्स नेपाल (कोकाकोला) र गोल्डस्टार लगायतका उद्योगहरूको वस्तुगत अवस्था, भौतिक पूर्वाधार तथा मजदुरहरूको अवस्थाबारे अवलोकन गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार अनुगमनका क्रममा अधिकांश उद्योगमा पुराना तथा जीर्ण पूर्वाधार, नीतिगत अस्पष्टता, विद्युत्, खानेपानी र जग्गासम्बन्धी समस्या देखिएको छ। साथै सीमित स्थानमा धेरै कामदारले काम गर्नुपर्ने अवस्था रहेको भन्दै श्रमिकको कार्यपरिवेश सुधार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

सांसद अन्सारीले विशेषगरी खाद्यान्न उद्योगहरूमा सरसफाइ (हाइजिन) को मापदण्डलाई अझ प्रभावकारी बनाउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले उद्योगीहरूको मनोबल अभिवृद्धि गर्ने, श्रमिकको हकहित सुनिश्चित गर्ने तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि उद्योग व्यवस्थापन समितिले नीतिगत तहबाट आवश्यक पहल र ठोस कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय