काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार तथा कृषि उत्पादनलाई एकीकृत रूपमा अघि बढाउने सहमति गरेका छन्।
मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र कृषि मन्त्री गीता चौधरीबीच भएको भेटवार्तामा सिँचाइ, कृषि उत्पादन, प्राविधिक सेवा तथा बजारीकरणलाई एउटै योजनाअन्तर्गत सञ्चालन गर्ने विषयमा छलफल भएको हो।

मन्त्री श्रेष्ठले सिँचाइ विस्तारमा भइरहेको ठूलो लगानीको पूर्ण प्रतिफल प्राप्त गर्न उन्नत बीउ, मल, प्रविधि, कृषि सेवा र बजार व्यवस्थापनलाई समेत प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मन्त्रालयगत सीमाभन्दा माथि उठेर सिँचाइ र कृषि कार्यक्रमलाई एकीकृत रूपमा कार्यान्वयन गर्न प्रस्ताव गर्नुभयो।
कृषि मन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै नीति निर्माणदेखि कार्यान्वयन तहसम्म दुवै मन्त्रालयबीच समन्वय थप सुदृढ बनाइने बताउनुभयो।
यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ आयोजनाको अनुगमन गर्नुभएको थियो। निर्माणाधीन यी आयोजनाहरू सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन, खाद्य सुरक्षा, किसानको आयआर्जन तथा ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।



