काठमाडौं: सिन्धुलीस्थित प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको मृत्यु प्रकरणमा प्रहरीले कुटपिट गरेको प्रमाण नदेखिएको सरकारको दाबी सार्वजनिक भएको छ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा जवाफ दिँदै गृहमन्त्रीले छानबिन समिति गठन गरी तयार गरिएको प्रतिवेदनमा हिरासतमा रहँदा विश्वकर्मामाथि कुनै शारीरिक वा मानसिक यातना नदिइएको उल्लेख रहेको जानकारी दिए।

उनका अनुसार प्रतिवेदनका आधारमा उक्त घटनामा प्रहरी कुटपिटका कारण मृत्यु भएको निष्कर्ष ननिकालिएको हो।
यसै आधारमा उनले प्रहरीद्वारा कुटपिट भएको नदेखिएको स्पष्ट पारे।
बैठकमा सांसद भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले प्रहरी संगठनभित्र दलित समुदायका मुद्दा सम्बोधन गर्न ‘दलित सेल’ कार्यान्वयनमा ल्याइएको पनि बताए।
सांसद सुनारले भने हिरासतको भौतिक अवस्था र मृत्युको परिस्थितिबारे प्रश्न उठाउँदै, “टेबल, कुर्सी नभएको हिरासतमा सात फिट माथिबाट कसरी आत्महत्या सम्भव भयो?” भन्ने जिज्ञासा राखेका थिए।
गृहमन्त्रीले घटनाबारे मन्त्रालय संवेदनशील रहेको र थप तथ्य प्राप्त भएमा आवश्यक जानकारी सार्वजनिक गरिने प्रतिबद्धता जनाए।




