काठमाडौँ: सरकारले गत वैशाखमा संसद् अधिवेशन स्थगित गरेर ल्याएका चार वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन्।
यससँगै ती अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत अघि बढाउने बाटो खुलेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो।
बैठकमा चारै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीहरूले उठेका प्रश्नको जवाफ दिएका थिए।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरेका थिए।
सरकारले संसद् अधिवेशन नरहेका बेला यी अध्यादेश जारी गरेको थियो। वैशाख २८ गते संसद् अधिवेशन सुरु भएपछि पहिलो दिन ती अध्यादेश प्रतिनिधिसभामा पेस गरिएको थियो।




