काठमाडौं: गृहमन्त्री सुधन गुरुङ ले गलत गर्ने जो–कोहीलाई कारबाही गर्ने सरकारको नीति रहेको बताएका छन्।

विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्म सरकारले कडाइका साथ काम गर्ने बताएका हुन्।

“गलत गर्ने आफ्नै पार्टीको भए पनि छाडिँदैन,” उनले भने।

गुरुङका अनुसार सुरक्षा निकायका प्रमुखहरूसँग हालैको बैठकमा स्पष्ट निर्देशन दिइएको छ र सेवा प्रवाह तथा कारबाही प्रक्रियामा कुनै राजनीतिक दबाब वा हस्तक्षेप नहुने बताइएको छ।

उनले सुरक्षा निकायहरू नागरिक सेवामा केन्द्रित भएर काम गर्ने र अपराध नियन्त्रणमा सरकार निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गरे।

विपद् व्यवस्थापनका विषयमा बोल्दै उनले सरकार तयारी अवस्थामा रहेको र पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार विपद्का बेला डोजर तथा अन्य उपकरण कहाँ छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको छ।

राइड सेयरिङ एप जस्तै प्रणालीमार्फत उपकरणको स्थान पहिचान गरी आवश्यक स्थानमा तत्काल परिचालन गर्न सकिने व्यवस्था गरिएको उनले बताए।

गुरुङले विगतका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर सरकार अघि बढ्ने पनि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय