काठमाडौं: अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेश्कियानले हस्ताक्षर गरेका हुन्।

सम्झौता फ्रान्सको भर्साइल्स दरबारमा भएको बताइएको छ, जहाँ ट्रम्प जी–७ सम्मेलनका क्रममा पुगेका थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी अधिकारीहरूले पछि पत्रकारहरूलाई सम्झौताका मुख्य बुँदाबारे जानकारी दिएका थिए।

प्रारम्भिक सहमतिअनुसार दुवै देशले तत्काल सैन्य गतिविधि रोक्ने, एकअर्काविरुद्ध बल प्रयोग नगर्ने र सार्वभौमिकताको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्।

आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने विषयमा पनि सहमति भएको बताइएको छ।

सम्झौतामा ६० दिनभित्र दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता अघि बढाउने लक्ष्य राखिएको छ।

त्यस अवधिमा चरणबद्ध रूपमा प्रतिबन्धहरू खुकुलो बनाउने, जलमार्ग सञ्चालन सहज बनाउने र क्षेत्रीय तनाव घटाउने उपायहरू अपनाइने उल्लेख छ।

फारसको खाडी हुँदै ओमान सागरसम्म जोड्ने रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज खोल्ने विषयमा पनि सहमति भएको बताइएको छ।

इरानले जहाज आवागमन सुरक्षित बनाउन समन्वय गर्ने र भविष्यको व्यवस्थापन प्रणालीबारे क्षेत्रीय देशहरूसँग छलफल गर्नेछ।

यसैबीच, अमेरिकाले इरानमाथि लगाइएका केही नौसैनिक अवरोध र प्रतिबन्धहरू क्रमशः हटाउने प्रतिबद्धता जनाएको छ।

इरानले भने आणविक हतियार विकास नगर्ने आफ्नो पुरानो प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्झौतामा आर्थिक पुनर्निर्माण, तेल निर्यातमा सहजता, रोकिएका इरानी सम्पत्तिको उपयोग र निगरानी संयन्त्र स्थापना गर्ने विषय पनि समेटिएको छ।

तर यी सबै विषय अन्तिम सम्झौतामा विस्तृत रूपमा टुंग्याइने बताइएको छ।

प्रारम्भिक सहमतिपछि दुवै पक्षले युद्धविराम कार्यान्वयन गर्दै आगामी ६० दिनभित्र विस्तृत शान्ति सम्झौतामा पुग्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय