काठमाडौं: प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहँदा सांसदहरूले रक्षा मन्त्रालय को खर्च विवरण (रातो किताब) नपाएको भन्दै प्रश्न उठाएका छन्।
हर्क साम्पाङ ले संसद्मा बोल्दै रक्षा मन्त्रालय अन्तर्गतको बजेट किताब अझै उपलब्ध नभएको भन्दै आपत्ति जनाएका हुन्।

उनले बजेटमाथि छलफल भइरहेका बेला आवश्यक दस्तावेज नै नपाउनु गम्भीर विषय भएको टिप्पणी गरे।
“रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब हामीलाई अहिलेसम्म प्राप्त भएन,” भन्दै उनले किन वितरण नभएको हो भनेर स्पष्टता माग गरेका थिए।
सांसदहरूले मन्त्रालयगत बजेटमाथिको छलफल सकिएर विनियोजन विधेयक पारित गर्ने चरणमा पुगिसक्दा पनि आवश्यक विवरण नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
सभामा आज प्रधानमन्त्री, अर्थमन्त्रीसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालेकाले सो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ पनि उहाँले दिनुपर्ने व्यवस्था छ।
बजेट प्रक्रियाअनुसार मन्त्रालयगत छलफलपछि खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने र त्यसपछि विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।



