काठमाडौं: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले मन्त्री बनेपछि आफूले नियमित रूपमा लिँदै आएको ‘प्रिय क्लास’ छुटेको बताएका छन्।
एक कार्यक्रममा बोल्दै पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि समय अभावका कारण पहिलेजस्तो नियमित रूपमा सहभागी हुन नसकेको उल्लेख गरे।

आफूले निरन्तरता दिन चाहेको गतिविधि मन्त्री बनेपछि रोकिएको भन्दै उनले यसप्रति खेदसमेत व्यक्त गरे।
उनले संसद् र मन्त्रालयका काममा व्यस्त रहनुपरेकाले सबै ठाउँमा उपस्थित हुन सम्भव नभएको बताए।
“मन्त्री भएपछि मेरो प्रिय क्लास नै छुट्यो,” भन्दै उनले यसबाट असहज महसुस गरेको सुनाए।
मन्त्री पुनले मन्त्रालयको बजेट कार्यान्वयनको अवस्थाबारे पनि धारणा राखे। उनका अनुसार मन्त्रालयले करिब ४ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ। तर त्यसमध्ये झन्डै साढे ३ अर्ब रुपैयाँको कार्यक्रम तथा योजना अझै तय हुन बाँकी छ।
बजेटलाई प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक कार्यक्रम निर्माणको काम भइरहेको उल्लेख गर्दै उनले नवप्रवर्तन, अनुसन्धान र प्रविधि विकासका क्षेत्रमा केन्द्रित योजनाहरू अघि बढाइने बताए।
मन्त्री पुनले सीमित समय र स्रोतका बाबजुद मन्त्रालयलाई परिणाममुखी बनाउने प्रयास भइरहेको पनि बताएका छन्।



