काठमाडौं: प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको र कानुनी रूपमा स्वतः रद्द भइसकेको पाइएको छ।
यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेखअनुसार साम्पाङले २०७१ पुस ६ मा जरिवानासहित आफ्नो श्रेणी (ए) को लाइसेन्स नवीकरण गरेका थिए।

त्यसयता भने उनले लाइसेन्स नवीकरण नगरेको देखिएको छ।
प्रहरी स्रोतका अनुसार लाइसेन्सको म्याद २०७३ पुस १२ मा समाप्त भएको थियो।
म्याद सकिएपछि पाँच वर्षभित्र जरिवाना तिरेर नवीकरण गर्न सकिने कानुनी व्यवस्था भए पनि उनले सो प्रक्रिया पूरा नगरेकाले लाइसेन्स स्वतः रद्द भएको निष्कर्षमा अधिकारीहरू पुगेका छन्।
यस विषयमा नेपाल प्रहरी अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले थप छानबिन गरिरहेको छ।
एक प्रहरी अधिकारीका अनुसार घटनासँग सम्बन्धित कानुनी पक्षबारे परामर्शसमेत भइरहेको छ।
साम्पाङ हाल सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
उनी यसअघि धरान उपमहानगरपालिका का प्रमुखका रूपमा कार्यरत थिए र श्रम संस्कृति पार्टी का संस्थापक पनि हुन्।
यो विषय जेठ २९ गते उदयपुरमा मोटरसाइकल चलाउँदा एक हातले भिडियो खिचेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चामा आएको हो।
उक्त घटनापछि ट्राफिक प्रहरीले उनीमाथि कारबाही गर्दै लाइसेन्स सम्बन्धी विवरणसमेत जाँच गरेको थियो।
प्रचलित कानुनअनुसार वैध सवारी चालक अनुमति पत्रबिना सवारी चलाउनु गैरकानुनी मानिन्छ।
छानबिनको निष्कर्षपछि यस विषयमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने प्रहरीले जनाएको छ।



