काठमाडौं: चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपाल–चीनबीच जलवायु, विज्ञान तथा अनुसन्धानका क्षेत्रमा सहकार्यलाई नयाँ चरणमा लैजानुपर्ने बताएका छन्।
चाइनिज एकेडेमी अफ साइन्स (CAS) र इन्स्टिच्युट अफ तिब्बती प्लाटो रिसर्च (ITPCAS) ले आयोजना गरेको उच्चस्तरीय अन्तरक्रियामा बोल्दै मन्त्री खनालले हिमालय क्षेत्रलाई “एसियाको जलभण्डार” भन्दै यस क्षेत्रमा भइरहेको तीव्र जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गरे।

उनले हिमनदी पग्लिनु, हिमताल विस्फोट, बाढी तथा पानीका स्रोतहरूमा पर्ने असरले दक्षिण एसियाका अर्बौं मानिसको जीवन प्रभावित हुन सक्ने चेतावनी दिए।
जलवायु संकट नेपाल वा चीनको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती भएको उनको भनाइ थियो।
कार्यक्रममा चिनियाँ वैज्ञानिकहरूले नेपालसँगको अनुसन्धान सहकार्य विस्तार भइरहेको उल्लेख गर्दै काठमाडौंस्थित अनुसन्धान केन्द्रमार्फत हिमालय अध्ययन, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा काम भइरहेको जानकारी दिए।
मन्त्री खनालले नेपालमा बदलिँदो मौसम चक्र, मनसुन ढाँचामा आएको परिवर्तन र त्यसले कृषि तथा पूर्वाधारमा पारिरहेको असरबारे पनि चिन्ता व्यक्त गरे।
उनले सीमापार बाढी तथा सडक–पुल क्षतिका घटनाले क्षेत्रीय सहकार्य आवश्यक भएको बताए।
उनले प्रारम्भिक चेतावनी प्रणाली, आधुनिक मौसम केन्द्र, डेटा साझेदारी र वैज्ञानिक अनुसन्धानलाई नीति निर्माणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।
साथै नेपालमा अनुसन्धान पूर्वाधार विस्तार र युवा वैज्ञानिकहरूको क्षमता विकासमा लगानी बढाउनुपर्ने उनको जोड थियो।
कार्यक्रममा दुवै पक्षले जलवायु परिवर्तन, हिमालय अध्ययन र वैज्ञानिक सहकार्यलाई अझ संस्थागत गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री खनालले सोमबार साँझ चिनियाँ विदेशमन्त्री वाङ यी सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।




