काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयंले उक्त भनाइ सच्याउनुपर्ने माग दोहोर्‍याएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखले विवादित अभिव्यक्ति अभिलेखबाट हटाउने निर्णय गर्ने अपेक्षा व्यक्त गरे।

प्रधानमन्त्रीले पनि आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने उनको भनाइ थियो।

साम्पाङले सुस्ता क्षेत्रमा नेपाली नागरिकमाथि भारतीय एसएसबीले धाकधम्की दिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिरहेका युवाहरूलाई पक्राउ गरिएको विषय उठाउँदै उनीहरूलाई रिहा गर्न माग गरे।

पक्राउ परेकामाथि झूटा मुद्दा लगाउने प्रयास भइरहेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए।

त्यसैगरी, विद्यार्थीहरूको मोबाइल फोन खोसेर पानीमा डुबाइएको घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै उनले ट्याम्पो पल्टाइएको तथा प्रहरीद्वारा घरको छानामा ढुङ्गा हानिएको लगायतका घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराए।

प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै साम्पाङले भने, “हिजोआज प्रहरी यसरी उद्दण्ड भएको देख्दा अचम्म लाग्छ।

प्रहरी देख्नेबित्तिकै नागरिकले शान्ति सुरक्षाको महसुस गर्नुपर्छ।

तर अहिले त केही खोस्छ कि, अब के गर्छ कि भन्ने वातावरण बनिरहेको छ।”

उनले यस्ता घटनामा सरकार गम्भीर बन्नुपर्ने र नागरिकको अधिकार तथा सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कदम चाल्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय