काठमाडौं: भारतमा रहेका नेपालीहरूले अब मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनी सम्सारा रेमिट र पशुपति पे इन्डियाबीच भएको सहकार्यपछि यो सेवा सुरु गरिएको हो।

यसअन्तर्गत भारतमा रहेका नेपालीहरूले पशुपति पे एप डाउनलोड गरी अनलाइन केवाईसी प्रक्रिया पूरा गरेपछि घर वा कार्यस्थलबाटै नेपालमा रकम पठाउन सक्नेछन्।

पैसा पठाउन अब एजेन्ट वा शाखा कार्यालयमा पुग्नुपर्ने आवश्यकता नपर्ने जनाइएको छ।

सम्सारा रेमिटका अनुसार भारतको जुनसुकै स्थानबाट २४सै घण्टा नेपालका बैंक खाता तथा डिजिटल वालेटमा सिधै रकम पठाउन सकिनेछ।

यसले समय र खर्च दुवै बचत गर्नुका साथै सुरक्षित र वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सहज बनाउने विश्वास गरिएको छ।

कम्पनीले सेवा शुल्क पनि प्रतिस्पर्धी र तुलनात्मक रूपमा कम रहेको जनाएको छ।

साथै नयाँ ग्राहकले पहिलो कारोबार निःशुल्क गर्न सक्ने व्यवस्था गरिएको छ।

हाल भारतमा करिब ३० देखि ३५ लाख नेपाली रहेको अनुमान छ।

तर उनीहरूमध्ये सीमित संख्याले मात्रै औपचारिक माध्यमबाट नेपाल पैसा पठाउने गरेका छन्।

नयाँ सेवाले अवैध माध्यमबाट हुने कारोबारलाई निरुत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्सारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय