काठमाडौं: देशकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अध्यक्ष नियुक्ति हुन ढिलाइ हुँदा अस्पतालको प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित बनेको छ।
अध्यक्षको पद रिक्त रहेपछि नीतिगत निर्णयदेखि दैनिक प्रशासनिक कामकाजसम्म असर परेको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालले खरिद गरेका विभिन्न सामग्रीको भुक्तानी रोकिएको छ भने कर्मचारीहरूले दुई महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्।
यस्तै, अवकाशप्राप्त कर्मचारीहरूको उपदान रकमसमेत निकासा हुन नसकेको बताइएको छ।
यसले अस्पतालका कर्मचारी र सेवाग्राही दुवै प्रभावित बन्न थालेका छन्।
अस्पतालका अध्यक्ष रहेका डा. विजय न्यौपानेको कार्यकाल २०८२ चैत २० गते समाप्त भएको थियो।
त्यसपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २०८३ वैशाख १५ गते नयाँ अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो।
वैशाख २२ गते आवेदनको म्याद सकिए पनि मन्त्रालयले उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गर्न एक महिनाभन्दा बढी समय लगाएको छ।
मन्त्रालयले जेठ २८ गते सार्वजनिक गरेको सर्टलिस्टमा सात जनाको नाम समावेश गरिएको छ।
सर्टलिस्टमा डा. अजयकुमार झा, डा. जया श्रेष्ठ, डा. भावना वाग्ले, डा. योगेन्द्रप्रसाद सिंह, डा. लक्ष्मीनारायण सिंह, डा. विजयचन्द्र आचार्य र डा. विश्वराम पौडेल रहेका छन्।
अस्पताल प्रशासनले अध्यक्ष नियुक्तिको प्रक्रिया छिटो टुंग्याउन सके अस्पतालको नियमित कामकाज सहज हुने जनाएको छ।





