काठमाडौं: काठमाडौं महानगरपालिका वडा नं. ८ ले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ७० जना वडावासीलाई सम्मान गरेको छ।
वडाले आयोजना गरेको कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, कला–साहित्य, उद्यम–व्यवसाय, धर्म–संस्कृति, समाजसेवा तथा राष्ट्रसेवा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।


कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्मानित व्यक्तित्वहरूले आफ्नो क्षेत्रको विकाससँगै लोकतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
उहाँले सेवामुखी राजनीति र सामाजिक सहकार्यको आवश्यकता औँल्याउनुभयो।
प्रथम उपराष्ट्रपति परमानन्द झाले वडाले समाजका अग्रज तथा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई सम्मान गरेर सकारात्मक सन्देश दिएको बताउनुभयो। उहाँले वडा नागरिकको सुख–दुःखको साथी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
वडाध्यक्ष आशामान संगतले वडाभित्र विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरू हुनु गौरवको विषय भएको बताउँदै स्वच्छ प्रतिस्पर्धा र सहकार्यबाट उन्नत समाज निर्माण गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा उद्यमी, चिकित्सक, शिक्षक, खेलाडी, संस्कृतिकर्मी, समाजसेवी, राष्ट्रसेवक कर्मचारी तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो।
वडाका अनुसार समाज र समुदायको विकासमा योगदान पुर्याउने व्यक्तिहरूको कदर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।






