काठमाडौँ: शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई प्रविधिमैत्री र सहज बनाउन काठमाडौँ महानगरपालिकाले १ करोड ७० लाख १६ हजार ६७० रुपियाँ बराबरका अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई १६ वटा इन्टरएक्टिभ किओक्स मेसिन, ६५ वटा अल-इन-वन डेस्कटप र अपग्रेड गरिएको सर्भर प्रणाली हस्तान्तरण गर्दै सरकारी अस्पतालमा टिकट काट्न र पैसा तिर्न घण्टौँ लाइन बस्नुपर्ने सास्ती अन्त्य गर्न यो सहयोग गरिएको बताउनुभयो।

यो नयाँ डिजिटल प्रणाली लागू भएसँगै अब बिरामीहरूले घरबाटै पैसा जम्मा गर्न, अस्पतालमा आफैँ शुल्क भुक्तानी गर्न र ल्याब रिपोर्ट प्रिन्ट गर्न सक्नेछन् भने अस्पताल प्रशासनले आगामी दिनमा क्यान्सर उपचार लगायतका सेवाहरूलाई पूर्ण रूपमा ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउँदै लैजाने लक्ष्य राखेको छ।






